नगरपालिका भित्रका सडक ओगट्ने छुट कसैलाई दिदैनौ ; उपमेयर बर्मा

प्युठान नगरपालिकाले सडकको किनारामा अनाधिकृत रुपमा बनाईएका घर, टहरा, सिढि -पर्खाल आदि भत्काई सडकको मापदण्डमा ल्याउने अभियान थालेको छ। यसै सन्दर्भमा पौष २४ गते प्युठान नगरपालिका को अति ब्यस्त मानिने उपल्लो बाग्दुला बजारमा डोजर लगाई बाटो बढाउने कार्य सुरु भै सकेको छ।

उक्त अभियानलाई नगरबासीले सराहनीय कार्य भन्दै स्वागत पनि गरेका छन्। प्यु न पा को बाटो व्यवस्थित गर्दै लैजाने अभियान कस्तो खाले अभियान हो भनि हामीले प्युठान सरोकार डट कम बाट नगर उप प्रमुख देबेन्द्र बर्मा संग अन्तरवार्ता लिएका थियौ। पस्तुत छ उक्त अन्तर्वाता को सार संक्षेप

१. प्यूठान नगरपालिकाले बाटो विस्तारको योजना कहिले देखि बनाएको हो ?
वर्तमान जनप्रतिनिधिको निर्वाचनका क्रममा स्थानीयहरुले नगर क्षेत्र भित्रका सडकहरु थप फराकिलो बनाउने विषयमा कुरा उठाएपछि यो सोंच बनाएका थियौं । नगरपालिकामा निर्वाचित भएपछि केहि समय नगर क्षेत्र भित्रका सम्पूर्ण परिस्थिति र परिवेश वुझ्न लाग्यो । यस अवधिमा कृषि, पशुपालन, रोजगारका क्षेत्रहरु, दुर्गम क्षेत्रका विकास, विपन्न वालवालिका तथा समुदाय एवम् अन्य क्षेत्रहरुका सकारात्मक परिवर्तन गर्न सकिने ठाउँ पनि ठम्माउँदै कार्य थालियो गरियो । पटकपटक सडक अवरोध नगर्न अनुरोध गर्ने कार्य पनि गरियो ।
२. बाटो विस्तारका क्रममा देखिएका चुनौतिहरु के के छन् ? र त्यसको समाधान कसरी गर्दै हुनुहुन्छ ?
सडक विकासको प्रमुख खुडकिलो हो, प्रमुख आधार हो । संघ, प्रदेश र स्थानीय सरकारले नै कुन सडकको कस्तो मापदण्ड हुने भनि स्पष्ट निर्देशन दिएको छ । बाहिर छलफल गर्दा, कुराकानी गर्दा वा मञ्चमा भाषण गर्दा प्रत्येक व्यक्तिले सडक चाहिन्छ, फराकिलो चाहिन्छ भन्नुहुन्छ तर खासमा उहाँको फाल्नुपर्ने भयो भने उहाँ पनि झगडा गर्न आउनुहुन्छ । पछिल्लो चरणमा हामीले त्यस्ता केहि अवस्थाहरु भोगेका छौं ।
अहिले प्यूठान नगरपालिकाले सुरु गरेको उपल्लो बाग्दुला बजारको वाटो विस्तारको कुरा गर्नु भएको हो भने हामीले त्यहाँ बाटो विस्तार भन्दा पनि पुरानो वाटोलाई निरन्तर सञ्चालन ल्याउन गरेको प्रयास हो । एम्वुलेन्स समेत छिर्न कहिलेकाँही घण्टा कुर्नुपर्ने कुरा अव हुने छ्रैन । प्रतिष्ठित व्यापारि मेघराज कक्षपतीको कोदाम देखि स्व. खेमराज पण्डितको घरहुँदै दम्ती जाने खास पुरानो सडक नयाँ सडक खुलेपछि पछिल्लो २ दशक यता पार्किंगको रुपमा मात्र प्रयोग हुँदै आएको र स्थानीयहरुको दर्जनौं गुनासो रहेकाले सडक सुचारु र त्यसका लागि आवश्यक बाटो चौडा गरिएको हो । उक्त वाटो अव निरन्तर सञ्चालन हुने छ । हामीले वाटोका सबै अवरोध हटाएर तत्काल नै ग्रेभल समेत गरिसकेका छौं । अव त्यो वाटो रोकिदैन । २४ घण्टा नै दुवै वाटोहरु अवरोध विना सुचारु हुने छन् ।
३. बाटो विस्तार पहिलो चरणमा कहाँ कहाँ हुदै छ ? त्यसबारे बताइदिनुहुन्छ कि ?
बाटो विस्तार निरन्तर प्रक्रिया हो । सबैभन्दा वढि समस्या देखिएको उपल्लो बाग्दुलाको अधिकांश समस्या समाधान गरिसकेका छौं, अब केहिमात्र समस्या बाँकि छन् । भालुवांग प्यूठान सडक खण्डको नगरपालिका क्षेत्र भित्र चेरनेटा सारिवांग सडक पनि विस्तारका लागि सरोकारवाला नगरबासीहरुको अभिमत लिइसकेका छौं भने तत्काल जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाईमा जिल्लाका सबै राजनैतिक दलका प्रमुखहरु, संघिय माननीय, प्रदेश मन्त्री, माननीयहरु, माण्डवी र मल्लरानी गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, डिभिजन सडक कार्यालय, सुरक्षा निकायहरु तथा अन्य सरोकारवालाहरु समेतको उपस्थितिमा बैठक बसेर थप निर्णयहरु गर्ने छौं ।
जनचाहना अनुसार हामी जसरी पनि दाखाक्वाडीको बेलुवा देखि बाग्दुला पुल्चोक सम्मको सडक अहिलेभन्दा चौडा गराइ छाड्ने पक्षमा छौं । सहज यातायात सञ्चालनका लागि नगरवासीहरुसंग गरिएका हाम्रा निरन्तरका प्रतिवद्धताहरु जसरी पनि कार्यान्वयन गर्ने छौं । यो कार्यका लागि प्रत्येक नगरवासीको निरन्तर समर्थन प्राप्त भइरहको छ । सडक आसपासका बजारक्षेत्रमा नीजि तथा व्यवसायिक घर तथा भवन भएकाहरु पनि सडक चौडा गर्ने पक्षमा सहमत देखिनुभएको छ । सकेसम्म कम क्षतीमा सडक चौडा गर्ने विषय हाम्रो प्राथमिकताको विषय हो ।
त्यस्तै तत्काल नै नगर क्षेत्र भित्र सडक ओगटेर घर बनाउने, ढ्याव्रि राख्ने, गिट्टी वालुवा तथा अन्य समाग्री राख्ने कुराहरु पनि हटाउँदै छौं । जसका लागि बाग्दुला क्षेत्रका लागि अन्तिम पटक समेत सूचना प्रकाशित गरिरहेका छौं भने अन्यत्रका लागि सुचना प्रकाशित गर्ने क्रममा छौं ।
४. यो बाटो विस्तार कार्यक्रम कसरी अगाडि वढाउनुहुन्छ ? कार्ययोजनाको बारे स्पष्ट पारिदिनु हुन्छ ?
प्यूठान नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने सम्पूर्ण सडकहरुमा बन्ने नयाँ घर अनिवार्य मापदण्ड अनुसार बनाउन कडाई गर्ने कार्य सुरु गरिसकेको छ । त्यस्तै सडकहरुमा आवागमन सहज बनाउन बाग्दुला, विजुवार तथा जुम्री क्षेत्रमा सवारिसाधन अत्यधिक पार्किंग हुने समस्यालाई समाधानका लागि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायसंग छलफल गरिसकेका छौं । बाग्दुला तथा जुम्री क्षेत्रका लागि टिकुरी तथा जुम्री वसपार्क व्यवस्थीत गर्दै जाने तथा विजुवार क्षेत्रको पार्किंग समाधान गर्न प्यूठान नगरपालिका आफैले हालको जिल्ला स्वास्थ्य कार्यालयको पूर्वउत्तरतर्फको जग्गामा साना सवारीसाधन पार्किंगका लागि तयारी गरिसकेका छौं ।
५. के भित्रि सडकमा पनि डोजर लगाउनुहुन्छ ?
प्रसंग डोजर चलाउने होइन, प्रसंग सडकलाई दुर्घटना न्यूनीकरणका साथ न्यूनमत क्षेतीमा फराकिलो बनाउने हो । नगर क्षेत्र भित्र सडक मापदण्ड कार्यान्वयन होस् भन्ने उद्देश्य हाम्रो हो । कतै पनि सडक अवरुद्ध नहोस्, सवारी आवागमन सहज होस् भन्ने हाम्रो चाहना हो । हाम्रो रहर कतै पनि डोजर लगाउने होइन । बाध्यता पर्यो भने भित्र, बाहिर, मुख्य सडक, जताततै डोजर लाग्न सक्छ । हाम्रो चाहना सहज सडक तथा निर्वाध यातायात सञ्चालन हो ।
६. गाउँघरका मूल बाटो भित्रि बाटो बाहेक हिड्ने गोरेटो बाटो, डुवा, खोला नाला मा नगरपालिकाको मापदण्ड के कस्तो छ?
हामी यसैका लागि लक्षित गर्दै सबै वडाका सार्वजनिक सम्पत्तिहरु नापि गरेर छुट्टाइरहेका छौं । हिजोका गोरेटो बाटो, डुवाहरु, खोला नाला, खोल्सी, चौतारी, पानीका मुहान, परम्परागत सिंचाई कुलाहरुको लगत लिइ रहेका छौं । यि सबैको संरक्षणको दायित्व प्यूठान नगरपालिकाको हो । यदि कहिं कतै समस्या भएमा जानकारी पाएमा तत्काल समाधान गर्ने छौं ।
७. विस्तारको क्रममा कसैले अटेरी गरि सडक अवरोध सिर्जना गर्न खोजे के कारवाही हुन्छ ?
विस्तार भन्दा पनि हाल भइरहेको मापदण्डलाई कार्यान्वयन गर्दै सकेसम्म सडकमा सहज आवागमन सहज गराउनु नगरपालिकाको कर्तव्य हो । यसका लागि कारवाहि सडक ऐन २०३१ अनुसार हुन्छ । यसमा २ वर्ष सम्म कैद सम्म हुने सडक ऐनमा उल्लेख छ ।
८. जनप्रतिनिधिहरु आफ्नो भोट जोगाउन व्यापारिक घराना वा आफ्नो पार्टि प्रति लचिलो हुन्छन् भन्ने जनताको गुनासोलाई कसरी लिनु हुन्छ ?
वर्तमान प्यूठान नगरपालिकाको जनप्रतिनिधिहरुमा तपाँइको प्रश्न संग मेल खाने कुनै गतिविधि भएको छैन भन्ने म विश्वासका साथ दावि गर्दछु । तपाँइले सर्वे गर्नुस, नगरवासीलाई नै सोध्नुस्, कतै गुनासो छ भने हामीलाई भन्नुस् हामी सच्चाउने छौं । म यो पदमा रहँदा सम्म सम्पूर्ण नगरवासीको साझा रहिरहने तपाँइ मार्फत पुनः प्रतिवद्धता दोहोह्याउछु ।
९. प्यूठान नगरपालिकाका प्रतिनिधिहरु आफ्नो पार्टि भन्दा माथि उठेर काम गर्छन् भन्ने कुराको प्रत्याभूति नगरबासीलाई कसरी दिलाउनुहुन्छ ?
हामीले हाम्रो कर्मबाट त्यो कुराको प्रत्याभूती गराइसकेका छौं । हामी निर्वाचित भएपछि प्यूठान नगरपालिकाबाट तयार गरिएका नीति, कार्यक्रम तथा वजेटहरु हेर्नुस त्यसैले धेरै कुराको पुष्टि हुन्छ । हामीले गर्ने प्रत्येक कार्य समग्र नगरपालिकाको हितमा छन् र निरन्तर रहिरहनेछन् ।
१०. अन्त्यमा केही….
सम्पूर्ण नगरबासीहरुबाट निरन्तर सुझाव चाहन्छु । कहिं गलत हुँदा खवरदारि तथा असल कार्य हुँदा समर्थनको अपेक्षा गर्दछु । प्यूठान नगरपालिकालाई कसरी सम्वृद्ध बनाउन सकिन्छ भन्ने केहि सोंच छ भने जानकारी गराउनुभयो भने त्यसलाई कार्यान्वयन गर्न हामी लागि पर्ने छौं । समग्रमा सकारात्मकताका साथ मेरो विवेकले भ्याएसम्म गुणस्तरीय कार्य गर्ने छु । भरसक खोट लगाउने कार्य गर्ने छैंन ।