चैत्र २५ ,प्युठान — प्युठान -सरूमारानी गाउँपालिकामा स्वच्छ तथा वातावरणमैत्री ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ७० थान इन्डक्सन चुलो तथा आवश्यक भाँडाकुँडा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।
जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (PEEDA) को सहयोगमा प्युठानको स्वर्गद्वारी नगरपालिका , माण्डवी र सरुमारानी गाउँपालिकामा इण्डक्सन चुलो वितरण गर्दै आइरहेको संस्थाका जिल्ला फिल्ड संयोजक मोहन सुबेदीले जानकारी गराउनु भएको छ।
चैत्र २५ गते सम्पन्न सरूमारानी वडा १ र २ मा इन्डक्सन चुलो वितरण कार्यक्रमका क्रममा इन्डक्सन चुलोको सही प्रयोगविधि, सुरक्षित प्रयोगका उपाय तथा यसको दीर्घकालीन हेरचाहबारे नमुना प्रदर्शनीमार्फत विस्तृत जानकारी प्रदान गरिएको थियो।

जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (PEEDA) को सहयोगमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय बासिन्दालाई दैनिक ईन्धनमा हुने खर्चमा सहुलियत दिलाउने ,धुवाँ रहित वातावरणमा भान्सा सहज बनाउने र वातावरण संरक्षणमा पनि सहयोग पुर्याउने विश्वास गरिएको छ।
उक्त कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष, वडा सचिवलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

