प्युठान । प्युठान जिल्लाका ६४ वटै वडाबाट सहभागी महिला दिदीबहिनीहरूको उपस्थितिमा गौमुखी गाउँपालिका–रजवारा रानितालमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ निमा गिरिको पहलमा आयोजना गरिएको हो। भेटघाटका क्रममा सहभागी महिलाहरूबीच पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी कार्ययोजनाबारे पनि छलफल गरिएको थियो।

कार्यक्रममा सहभागीका अनुसार उक्त भेटघाटमा जिल्लाका विभिन्न वडाबाट आएका महिलाहरूले आफ्नो अनुभव तथा सुझावहरू समेत साझा गरेका थिए।
महिला सशक्तीकरण र जागरणका विषयमा सक्रिय रहँदै आएकी सांसद गिरिले जिल्लामा पठन संस्कृतिको विकास, सामाजिक नेतृत्व प्रवर्द्धन, मानसिक स्वास्थ्यबारे सचेतना, डिजिटल साक्षरता तथा दिगो विकासका विषयमा निरन्तर पैरवी गर्दै आउनु भएको छ।

