मंसिरको तुलनामा चितवन र तनहुँमा मत घट्यो, बारा २ मा झिनो अंकले बढ्यो

समग्रमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक रिपोर्ट, मतदानमा महिला मतदाताको उत्साहजनक सहभागिता

उपनिर्वाचन भएका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमध्ये चितवन २ र तनहुँ १ मा गत मंसिरको तुलनामा कम मत खसेको छ । बारा २ मा भने झिनो अंकले बढेको छ । आमनिर्वाचन भएको पाँच महिनापछि आइतबार उपनिर्वाचनको मतदान भएको हो ।

 निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार तीनवटै क्षेत्रमा समग्रमा ६० प्रतिशत मतदान भएको छ । तर, यो संख्या थपघट हुन सक्ने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले बताए । ‘मतदान अधिकृतको कार्यालयबाट प्राप्त तथ्यांकअनुसार हामीले विवरण सार्वजनिक गरेका छौँ, तर पछि थपघट हुन सक्छ,’ उनले भने ।

मुख्य निर्वाचित अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मंसिरको तुलनामा मतदाता थोरै बढे पनि मतप्रतिशत कम देखिएको छ । मंसिरको चुनावमा तीन निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार दुई सय ४२ मतदाता रहेकोमा यसपटक मतदाताको संख्या तीन लाख ५३ हजार दुई सय ४८ छ । 

मंसिरको तुलनामा चितवन २ मा ५ हजार आठ सय ४० मत कम खसेको छ । त्यतिखेर कुल मतदाता एक लाख २४ हजार दुई सय १४ रहेकामा उपनिर्वाचनमा चार सय ८१ बढेर एक लाख २४ हजार ६ सय ९५ पुगेका छन् । तर, अघिल्लोपटक ८४ हजार एक सय १७ मत खसेकामा अहिले घटेर ७८ हजार दुई सय ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।  जसमध्ये महिला ४० हजार चार सय ५५ र पुरुष ३७ हजार आठ सय २२ छन् । 

मंसिरको तुलनामा तनहुँ १ मा भने एक सय ८५ मतदाता घटेका छन् । उपनिर्वाचनका लागि तनहुँ १ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता  रहेकामा ६३ हजार सात सय ५७ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जसमा ३४ हजार ६७ महिला र २९ हजार ६ सय ९० पुरुष छन् । गत ४ मंसिरमा एक लाख २३ हजार चार सय ९० मतदाता थिए भने ६६ हजार सात सय १७ मत खसेको थियो। 

उपनिर्वाचनमा बारामा भने मतप्रतिशत सामान्य अंकले बढेको छ । उपनिर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेकामा ६८ हजार आठ सय ८७ ले मतदान गरेको बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । जसमा ३७ हजार ६४ पुरुष र ३१ हजार आठ सय २३ महिला छन् । ४ मंसिरको निर्वाचनमा एक लाख पाँच हजार ११ मतदाता रहेकामा ६६ हजार सात सय ३८ मत खसेको थियो ।

 उपनिर्वाचन शान्तिपूर्ण  :आयोग
छिटपुटबाहेक उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बारामा दोहोरो मतदान गर्ने र होहल्ला गर्ने पक्राउ पर्नुका साथै चितवनमा एउटा मतदान स्थलमा केही समय मतदान अवरुद्ध हुनुबाहेक शान्तिपूर्ण रूपमा मतदान भएको हो ।

तीनवटा निर्वाचन क्षेत्रमा कुल ६५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । गत मंसिरको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता खारेज तथा तनहुँ १ बाट निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय यादव उपराष्ट्रपति बनेपछि तीनवटै निर्वाचन क्षेत्रमा पुनः चुनाव भएको हो । उपनिर्वाचनमा युवा, ज्येष्ठ नागरिक, सुत्केरी र किरियापुत्रीले पनि मतदान गरेका छन् । 

रास्वपा सभापति लामिछाने ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भए पनि उनको नागरिकता अवरुद्ध भएको भन्दै सर्वाेच्च अदालतको फैसलासँगै सांसद पद गुमेको थियो । त्यसैका कारण उपनिर्वाचन भएको हो । चितवन २ मा विभिन्न दलका १२ र स्वतन्त्र उमेदवार १० गरि २२ उम्मेदवार छन् । जसमध्ये दुई महिला छन् । रास्वपाका सभापति लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रमुख प्रतिस्पधमा छन् । 

४ मंसिरमा भएको चुनावमा लामिछाने एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी अर्थात् ३४ हजार तीन सय १२ मतान्तरले निर्वाचित भएका थिए । मतदान सकिएपछि लामिछानेले पहिलाभन्दा राम्रो मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् भने श्रेष्ठ र न्यौपानेले मतदान केन्द्रमा मतदाताको प्रतिक्रियाले आफू उत्साहित भएको बताएका छन् ।

तनहुँमा नौ उम्मेदवार प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले छन् । तनहुँमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । भट्टराईले निर्वाचन लोकतन्त्रका लागि सुन्दर पक्ष भएको बताए । रास्वपाका वाग्लेले मौन अवधिमा पनि व्यापक चलखेल भएको बताए । एमालेका खनालले भने निर्वाचनको दिन सबै ठाउँमा पुगेको बताए ।

बारामा विभिन्न १० वटा दल र २४ स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी मैदानमा छन् । तर, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुसवाह, एमालेका पुरुषोत्तम पौडेल र रास्वपा उम्मेदवार रमेश खरेल मुख्य प्रतिस्पर्धी हुन् । बाराका केही ठाउँमा होहल्लाबाहेक शान्तिपूर्ण तरिकाले मतदान सकिएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

 पक्राउ परेका रिहा
उपनिर्वाचनका क्रममा बाराबाट पक्राउ परेका पाँचैजना रिहा भएका छन् । मतदान केन्द्रबाहिर होहल्ला गरिरहेका चारजना र दोहोरो मतदान गर्ने एक गरी पाँचजना आइतबार दिउँसो पक्राउ परेका थिए । तर, मतदान सकिएसँगै रिहा गरिएको बारा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । 

देवताल गाउँपालिका– २ कल्याणपुरस्थित मतदान केन्द्रबाहिर होहल्ला गरिरहेका छिमेकी जिल्लाका चारजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो । यस्तै, पिपरपाती जब्दी मतदान केन्द्रमा दोहोरो मतदान गर्ने क्रममा रामसागर यादव पक्राउ परेका थिए ।

 आचारसंहिता उल्लंघन गरेको भन्दै लामिछानेविरुद्ध उजुरी
चितवन २ मा आचारसंहिता उल्लंघन गरेका भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । कांग्रेसका प्रतिनिधि ध्रुवराज पोखरेलले प्रतिनिधिमार्फत लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीविरुद्ध उजुरी दिएका हुन् । निर्वाचन सुरु भइसकेको अवस्थामा लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरी मतदातालाई प्रभावित पारेको तथा प्रजिअको ठाडो निर्देशनमा सुरक्षाकर्मीद्वारा एकपक्षीय ढंगले मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेको उनको दाबी छ ।

 रास्वपाले माफी मागेपछि तीन घन्टापछि मतदान
४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र रहेको चितवनमा भरतपुर– ११ मा रहेको नयाँ किरण मावि मतदानस्थलमा भने विवादका कारण झन्डै तीन घन्टा मतदान स्थगित भयो । रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११ः१५ देखि अवरुद्ध मतदान कार्य ३ बजेपछि मात्र सुरु भयो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । 

मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि सर्वदलीय सहमतिमा पुनः मतदान सुरु गरिएको हो । सर्वदलीय सहमतिमा रास्वपाबाट मतदान भइरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्य भएको भनी उक्त दलबाट क्षमायाचना गर्ने निर्णय भएको छ ।

रास्वपाले आचारसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि सहमतिमा छ । सहमतिपछि मतदानस्थलमा शान्ति सुरक्षा कायम गर्न तीन सय मिटरवरिपरि कडा सुरक्षा र कुनै पनि गतिविधि रोक गरिएको थियो ।

 तनहुँमा कांग्रेस र रास्वपा उम्मेदवारसँग स्पष्टीकरण माग
तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराई र रास्वपा उम्मेवार स्वर्णिम वाग्लेलाई स्पष्टीकरण सोधिएको छ ।उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले स्पष्टीकरण मागेको हो । भट्टराईलाई मौन अवधिमा मत मागेको भन्दै स्पष्टीकरण सोधेको छ भने वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेपछि २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो ।

 मधेसका मुख्यमन्त्री पनि आचारसंहितामा तानिए
निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

आयोगले मुख्यमन्त्री यादवलाई बारा २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचन आचारसंहिताविपरीत हुने गरी के–कति कारणले पचरौता नगरपालिका क्षेत्र गएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले निर्वाचनको समयमा पचरौता नगरपालिका क्षेत्र जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो–होइन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने भनी २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ ।

 मतगणनास्थलमा तारजाली र सिसिटिभी
चितवन २ को मतगणनास्थलको सुरक्षाका लागि सिसिक्यामेरा जडान र तारजालीको समेत व्यवस्था गरिएको छ ।मतगणनास्थलमा १२ वटा सिसिक्यामेरा जडान गरिएको छ । बारा २ को मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सिसिटिभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । तनहुँका प्रमुख हरिप्रसाद ढकालले दुई दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको बताए ।

 तनहुँमा मतगणना सुरु, चितवन र बारामा सोमबार मात्रै
तनहुँ १ मा आइतबार मध्यरातिदेखि नै मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको भवन दमौलीमा सुरु गरिएको हो । सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लाइएको थियो । त्यसलगत्तै बसेको सर्वदलीय बैठकको सहमतिका आधारमा मतगणना थालिएको हो । बारा र चितवनमा भने मतगणनाको समय टुंगो लगाउन सोमबार बिहान सर्वदलीय बैठक डाकिएको छ । बारामा बिहान ६ बजे र चितवनमा बिहान ८ बजे बैठक बोलाइएको छ । 

मंगलबारसम्म परिणाम सार्वजनिक गर्ने गरी मतगणना : आयोग
निर्वाचन आयोगले मंगलबारसम्म परिणाम सार्वजनिक गर्ने गरी मतगणना हुने बताएको छ । आयोगका अनुसार बारा २ को शिक्षा तालिम केन्द्र कलैया, चितवन २ को उद्योग वाणिज्य संघको हल भरतपुर र तनहुँ १ को जिल्ला समन्वय समितिको भवन दमौलीमा मतगणना हुनेछ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भइसकेको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई मतगणना प्रारम्भ हुनेछ । 

चितवन र तनहुँमा मतदान गर्ने महिला धेरै 
उपनिर्वाचनमा महिला मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । चितवन २ मा खसेको ७८ हजार २७७ मतमध्ये ४० हजार ४५५ महिला र ३७ हजार ८२२ पुरुषका छन् । तनहुँ १ मा खसेको ६३ हजार ७५७ मतमध्ये ३४ हजार ६७ महिला र २९ हजार ६९० पुरुषका छन् । बारा २ मा खसेको कुल ६८ हजार ८८७ मतमध्ये ३७ हजार ६४ पुरुष र ३१ हजार ८२३ महिला मतदाता छन् । 

चितवन २ को एक मतदानस्थल, जहाँ महिला कर्मचारी मात्रै खटिएका थिए

चितवन २ को भरतपुर– १० स्थित भरतपुर माध्यमिक विद्यालयको मतदानस्थलको नेतृत्व महिलाले मात्र गरेका थिए । यहाँ तीन हजार चार सय ४६ मतदाता छन् । उनीहरूलाई मतदान गराउन २० महिला कर्मचारी खटिएका थिए । मतदानस्थलको निर्माण गरी मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले सम्पन्न गरेको मतदान अधिकृत विष्णुमाया बिकेले बताइन् । चितवन २ मा उपनिर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र थिए । यहाँ कुल एक लाख २४ हजार ६ सय ९५ मतदाता छन् । 

All News From: Nayapatrikadaily