सीसीएमसीसीद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं, पुस २५ गते । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी) काे बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले बढ्दो ओमिक्रोनको प्रकोपलाई मध्यनजर गरि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभएको छ ।

सीसीएमसीसीले कोरोना सतर्कता बमोजिम विद्यालय बन्द गर्ने सिफारिस गरे पनि यसको निर्णय नेपाल सरकारले गर्नेछ । सीसीएमसीसीको पत्र प्राप्त भएपछि विद्यालय कहिलेदेखि बन्द गर्ने भन्ने निर्णय सरकारले गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाइ छ ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन राेक

त्यस्तै, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको पनि उहाँले बताउनुभयो । प्रवक्ता नेपालले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत चिठी लेखी पठाउन सिफारिस गर्ने जानकारी दिनुभयो । बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान पनि गरेको छ । यो निर्णय गृहमन्त्रालयमार्फत कार्यान्वयनका लागि सिफारिस भएको उहाँको भनाइ छ ।