मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन् । उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए ।
वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको बताए । उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस एक डिग्रि सेल्सियससम्म पुगेको जानकारी दिए । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्रि सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको उनले बताए ।
वरिष्ठ मौसमविद् पौडेलले भने, “यो हप्ता दिन १० दिन भयो, खासगरी नेपालको विभिन्न स्थानको बिहानको र रातीको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता, १० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौंको १६/१७ डिग्रिबाट घट्दै ९ डिग्रिसम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यत्ति चिसो हुँदै जाँदा विशेषगरी रातीको आकाश खुल्ला अवस्थामा छ, दिनहरू पनि छोटो हुँदै जान्छ, त्यसैले आगामी दिनहरुमा चिसो पनि बढ्दै जान्छ, हामी जाडोयाममा प्रवेश गर्दैछौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो बढ्दै जान्छ, हिजो आजको मौसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रिसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौंमा भन्न सकिँदैन तर तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।”
वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकाले नेपालमा पनि जाडोयाममा मुख्य सहरहरूमा प्रदूषण बढ्नसक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डलनजिकै बस्ने र हावा नचल्ने भएकाले काठमाडौंलगायत वीरगन्ज, धनगढी, नेपालगन्ज, र जनकपुरजस्ता सहरमा आगामी दिनमा प्रदूषण बढ्ने बताए । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिनेतर्फ लाग्नुपर्ने उनको सुझाव छ ।
‘भारतमा, चीनको बेइजिङमा पनि प्रदूषण बढ्दै गएको छ भन्ने कुरा आइरहेको छ, गत वर्ष पनि नेपालका काठमाडौंलगायत मुख्य सहरहरूमा जाडोयाममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्यधिक प्रदूषित सहर भनिएको थियो, यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षायाम वा चैत वैशाख, जेठजस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन । लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमिननजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाडौंलगायत वीरगन्ज, धनगढी, नेपालगन्ज, जनकपुरमा आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ ।
त्यसैले हामीले अहिलेबाट नै त्यसको तयारीका कुरा अपनाउनु पर्ने हुन्छ, लामो समय हिउँद र वर्षा याममा वर्षा भएन भने त्यस किसिमको प्रदूषण हुन्छ, तराईमा हुस्सु लाग्ने हुन्छ । चिसो लाग्ने सम्भावना माइनसमै जान्छ भनेर भन्न सकिँदैन, तर काठमाडौंको कुरा गर्दा चिसो जिरोकै आसपासमा हुन्छ । त्यसैले जाडोयामलाई मध्यनजर गर्दै त्यहीअनुसार तयारीका कुरा व्यवस्थित गर्नुपर्छ, स्थानीय निकाय, प्रदेश, सेन्ट्रल गभर्मेण्ट, सबै मिलेर बढी चिसोबाट जनधनको क्षति नहोस् तयारीका कुराहरु अहिलेबाटै अपनाउनु पर्छ ।”
पौडेले भने, “विशेष गरेर गर्मीयाममा भन्दा जाडो याममा प्रदूषण बढी हुन्छ, वायुमण्डल स्थिर भएर बसेको हुन्छ, त्यसले गर्दा जति पनि प्रदूषणहरु हुन्छ, हाम्रो भेकल, गाडीहरूबाट जाने, उद्योगहरूबाट जाने प्रदूषण वायुमण्डलको माथि आकाशमा उड्न सक्दैन, वायुमण्डलको तल्लोस्तरमा बसेको हुन्छ, त्यही लेयरबाट हामी श्वासप्रश्वास गर्छौं, त्यस्तोबेलामा आँखा पिरो हुने, धमिलो हुने, कतिपय स्थानमा दिउँसै अँध्यारो जस्तो हुने, जाडोयाममा लामो खडेरी भयो भने त्यस्तो खालको गतिविधि हुन्छ, यस्तो बेलामा वायुमण्डल स्थिर हुन्छ, त्यसैले के पनि भनिन्छ भने जाडोयाममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भीडभाड हुने सहरी क्षेत्रमा यस्तो खालको अवस्था हुनसक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरु अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपाय अपनाउँदै जानुपर्ने हुन्छ ।”
वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरू अपनाउनु पर्ने बताए ।
Source : karobardaily