बुटवल उपमहानगरमा २५ वर्षपछि कांग्रेस सत्तामा

शनिबार, जेठ ७, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र रहेको बुटवल उपमहानगरमा एमालेलाई हराउँदै नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । योसँगै बुटवलमा नेकपा एमालेको २५ वर्षको बिरासत ढलेको छ ।

Newly Elected Mayor, Khel Raj Pandey, Butwal sub metropolitan city

नेकपा एमालेले पटक पटक जित्दै आएको रुपन्देहीको बुटवल क्षेत्रमा यो पटक भने नेपाली कांग्रेसका बुटवलका मेयरका उम्मेदवार खेलराज पाण्डेले ७५३३ मतान्तर सहित विजयी भएका छन् । पाण्डे विजयी भएसँगै बुटवलको नेतृत्वको अब कांग्रेसको हातमा गएको छ । प्रजातन्त्र आएपछि एक कार्यकाल स्थानीय तहमा नेतृत्व गरेको कांग्रेसले २५ वर्षपछि बुटवल क्षेत्रको नेतृत्व गर्ने भएको हो । 

बुटवलमा खसेको कुल ६३ हजार १ सय १६ मतमध्ये खेलराजको भागमा ३० हजार १ सय ३० मत आएको छ । जुन कुल मतको ४७.७३ प्रतिशत हो । नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत पाएका छन् ।  उनलाई एमालेकै उपमेयर उम्मेदवार भन्दा पनि कम मत आएको छ । यस्तै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ४ हजार २ सय ९७ मत पाएका छन् । 

यता उपमेयरमा भने नेकपा एमालेकी साबित्रादेवी अर्याल विजयी भएकी छन् । उनी २४ हजार ९ सय ४ मत ल्याउँदै बिजयी भएकी हुन् । गठबन्धनमा नेकपा एकीकृत समाजबादीबाट चिन बहादुर गुरुङले १६ हजार ९ सय ८० मत ल्याएका छन् भने राप्रपाकी भगवती पाण्डेले ६ हजार ५ सय २९मत ल्याएकी छन् ।  

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए ।

उपमहानगरका १९ वडामध्ये नेपाली कांग्रेसले ११ वडाहरू जितेको छ । नेकपा एमालेले ५, माओवादी केन्द्रले १, एकीकृत  समाजवादीले १ र एक वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

मेयर सुवेदीले गएको निर्वाचनमा २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्व कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेको मत २० हजार ८५१ थियो । मेयरमा २ हजार ३९८ मतको अन्तर थियो ।

यस्तो छ बुटवलमा राजनीतिक बिगत
बुटवल देशकै पुरानो नगरपालिका मध्येको हो । बुटवल विक्रम संवत् २०१६ सालमा नगरपालिका बनेको थियो । बुटवलमा प्रजातन्त्र आएपछिको २०४९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सूर्य प्रसाद प्रधानले मेयर जितेका थिए । २०५१ एमालेका मोदनाथ प्रश्रित सांसद हुँदै शिक्षामन्त्रीसम्म बने । ०५६ सालमा संसदको निर्वाचनमा सूर्य प्रधानले जिते । उनले विष्णु पौडेललाई पराजित गरेका थिए ।

०५४ को तत्कालीन स्थानीय चुनावमा पनि बुटवलमा एमालको तर्फबाट मेयरमा भोजप्रसाद श्रेष्ठ र उपमेयरमा विमलबहादुर शाक्य निर्वाचित भएका थिए । 

बुटवलबाट एमाले उपाध्यक्ष पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचन लगातार भारी मतका साथ निर्वाचित भएर ‘हयाट्रिक’ गरेका छन् । पौडेलले ०६४ सालमा सूर्य प्रसाद प्रधान र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका नेता तथा हाल जसपा नेता डा. बाबुराम भट्टराई र सूर्य प्रसाद प्रधानलाई भारी मतका साथ बुटवलबाट पराजित गरेका थिए । ०७४ मा भने कांग्रेसका युवराज गिरीलाई पौडेलले पराजित गरेका थिए । 

news source: shilapatra