भरतपुर महानगरपालिकामा रेनु दाहाल ५,७३३ मतले अगाडि

चितवन, जेठ ७-

भरतपुर महानगरमा जारी मतगणनामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेनु दाहालले झण्डै ६ हजार को अग्रता लिइएकी छन् ।

भरतपुरमा अहिलेसम्म भएको ७६ हजार ९५ मत गणनामा रेनु दाहालले २९ हजार ४७८ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २३ हजार ७४५ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतको अन्तर पाँच हजार ७३३ रहेको छ । त्यसैगरी भुइँकटर चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत ल्याएका छन् ।

पश्चिम चितवनको कांग्रेसको आधार क्षेत्र मानिएका वडाहरुको गणना बाँकी नै रहेकोले अब सुवेदीले अग्रता लिने झिनो सम्भावना देखिन्छ । जारी गणनामा वडा नम्बर १५ र १६ मा कांग्रेसले अग्रता लिइरहेको छ ।

भरतपुर महानगरपालिकामा खसेको कुलमत १ लाख २७ हजार हो।

भरतपुर महानगरपालिकामा कूल जनसंख्या ३,६९,३७७ रहेको छ भने कुल मतदाता संख्या १,८५,७५२ रहेको छ । जसमा ८८,८८४ पुरुष र ९६,८६७ महिला रहेका छन् । यस महानगरपालिकामा २९ वडा छन् 

News Source: Narayanionline