उच्चस्तरीय भेटवार्तादेखि सबै कार्यक्रम लुम्बिनीमै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सुशोभित गर्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षपछि नेपालको औपचारिक भ्रमण गर्ने तय भएको छ । मोदी बुद्धजयन्तीका दिन २ जेठमा एकदिने औपचारिक भ्रमणका क्रममा लुम्बिनी आउँदै छन् । आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ०७१ मा प्रधानमन्त्री भएपछि मोदीको यो पाँचौँ भ्रमण हो भने दोस्रोपटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल र भारतले मंगलबार मोदीको नेपाल भ्रमणको विस्तृत कार्यतालिका औपचारिक रूपमा सार्वजनिक गर्दै छन् । ‘प्रधानमन्त्रीको निमन्त्रणाका आधारमा भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीका अवसरमा लुम्बिनी आउन लाग्नुभएको हो, दुई देशबीच उच्चस्तरीय वार्तादेखि सबै कार्यक्रम लुम्बिनीमै हुने गरी कार्यक्रम तयार भएको छ,’ परराष्ट्रसम्बद्ध एक अधिकारीले भने ।
मोदी सीमावर्ती भारतीय सहरबाट लुम्बिनी आउनेछन् । मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा ६ घन्टा बिताउनेछन् । त्यहीँ प्रधानमन्त्री देउवा र मोदीबीच औपचारिक वार्ता हुनेछ । देउवाको पछिल्लो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्धबारे उनीहरूबीच छलफल हुनेछ । ‘मोदी कम्तीमा आधा दर्जनजति कार्यक्रममा सहभागी हुनेछन्,’ परराष्ट्र स्रोतले भन्यो । मोदी लुम्बिनीबाटै भारत फर्किनेछन् ।
प्रधानमन्त्री भएपछि मोदीले दुईपटक नेपालको राजकीय/औपचारिक भ्रमण गरेका छन् भने सार्क र बिमस्टेकका शिखर सम्मेलनमा उनी दुईपटक नेपाल आएका छन् । मोदीले पछिल्लोपटक चार वर्षअघि २८ र २९ वैशाख ०७५ मा नेपाल भ्रमण गरेका थिए । त्यसवेला मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथ भ्रमण गरेका थिए । मोदीलाई काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेका थिए । मोदीलाई यसपटक लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि अभिनन्दन गर्नेछ ।
मोदी १४ र १५ भदौ ०७५ मा बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । मोदी त्यसअघि ०७१ मा ९ देखि ११ मंसिरसम्म सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । मोदीले प्रधानमन्त्री भएपछि पहिलोपटक ०७१ साउन १८ र १९ मा नेपाल भ्रमण गरेका थिए । त्यसवेला उनले संविधानसभालाई सम्बोधन गरेका थिए ।
मोदीले काठमाडौं उपत्यकाबाहिर रहेका नेपालका प्रमुख धार्मिकस्थल जनकपुर र मुक्तिनाथ भ्रमण गरिसकेका छन् । उनले जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्ने उद्घोष पहिलेकै भ्रमणमा गरिसकेका थिए ।
सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका वेला मोदी र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबीच भएको वार्तामा काठमाडौं–वाराणसी, जनकपुर–अयोध्या र लुम्बिनी–बोधगयालाई भगिनी सहरका रूपमा विकास गर्ने सहमति भएको थियो । पशुपतिनाथ र काशी विश्वनाथ मन्दिर, रामचन्द्रको जन्मस्थल अयोध्या र सीताको जन्मस्थल जनकपुरधाम तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र ज्ञान प्राप्त गरेको बोधगयालाई एक–अर्कासँग जोड्नुपर्नेमा नेपाल र भारत दुवैको जोड थियो । मोदीले तत्कालीन प्रधानमन्त्री कोइरालालाई बोधगयामा रहेको महाबोधी मन्दिरबाट ल्याएको बोधीको बिरुवा लुम्बिनीको मायादेवी मन्दिर परिसरको अशोक स्तम्भछेउमा रोप्ने गरी उपहार दिएका थिए ।
मोदीलाई महाविद्यावारिधि
भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सुशोभित गर्ने भएको छ । ‘विश्वविद्यालयको महासभा र कार्यकारी परिषद्ले पारित गरिसकेको छ । विश्वविद्यालयले प्रधानमन्त्री मोदीलाई विश्वविद्यालय प्रांगणमा मानार्थ महाविद्यावारिधिको उपाधिबाट सम्मान गर्ने तय भएको छ,’ विश्वविद्यालय महासभा सदस्य प्राध्यापक रमेश ढुंगेलले नयाँ पत्रिकासँग भने ।
ढुंगेलका अनुसार नेपालका विश्वविद्यालयबाट यो स्तरको सम्मान प्राप्त गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि प्राप्त गर्न लागेका प्रधानमन्त्री पहिलो विदेशी नागरिक हुन् । ‘बुद्धजयन्तीका दिन हामी प्रधानमन्त्री मोदीलाई सम्मानित गर्दै छौँ । लुम्बिनीको दर्शन सकिएपछि सम्मानको कार्यक्रम तय भएको छ,’ ढुंगेलले भने ।
News Source: Nayapatrika